नदी नियंत्रण कार्यालय रौतहटमा ल्याउनु पर्ने मांग

नदी नियंत्रण कार्यालय रौतहटमा ल्याउनु पर्ने मांग

राकेश यादव ।
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलवार आयोजना गरेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा बाराको परमानीपुरमा रहेको बागमती तथा लालबकैया नदी नियंत्रण आयोजना कार्यालयको तीखो आलोचना गरिएको छ ।
बिपद आउनु अघि केहि नगर्ने आयोजना कार्यालयको कार्य प्रति बैठकमा सहभागीहरुले कार्यालयको कार्य प्रति खेद प्रकट गरेका हुन । गएको शनिवार आएको बाढ़ीले रौतहटमा पुर्याएको जनधनको क्षति ,प्रभावित भएका व्यक्तिलाइ राहत व्यवस्थापन ,किसानको भएको धानबालीको क्षति सम्बन्धी छलफलको लागि बोलाइएको बैठकमा सहभागी भएका निर्वाचित जनप्रतिनिधि , नागरिक समाज , उद्योगी , संचारकर्मीहरुले ठूलो नदी रौतहटमा र कार्यालय बारामा रहेकोले नदी नियंत्रण कार्यालय रौतहटमा स्थापना गर्नु पर्ने मांग गरेका छन ।
बैठकमा सहभागी भएका नेकपा एमालेका जिल्ला इंचार्ज अजय कुमार गुप्ताले रौतहटका जनता बाढ़ी बाट बर्षेनी पीडि़त हुदै आएको भएपनि नदी नियंत्रण कार्यालयले बांध मरमरत सम्भारमा खासै चिन्ता नलिएको गुनासो गरे ।
पटक पटक समयमा बागमती नदी र लाल बकैया नदीको बांध मरमत गर्नु भन्दा पनि बागमती तथा लालबकैया नदी नियंत्रण कार्यालयले कुनै चासो नदेखाएको कारन बाढ़ीको बेला तटबंध भत्किने गरेको आरोप लगाए ।
बारा जिल्लामा भएको कार्यालय रौतहटमा स्थापना गराउनको लागि सम्वन्धित निकायलाइ ध्यानाकर्षण गराउन सवै राजनितिक दलका प्रतिनिधिले सक्रियता पूर्वक भूमिका निर्वाह गर्न अपील समेत गरे ।
नेकपा एकीकृत समाजवादी पार्टीका नेता रेवन्तन झाले ठूलो नदी रौतहटमा र कार्यालय बारामा किन राखिएको भनी प्रश्न गर्दै सम्वन्धित जिल्लामा कार्यालय संचालन हुनु पर्ने जोड़ दिए । नदी नियन्त्रण कार्यालयको प्राविधिक स्थलगत रुपमा निरिक्षण अनुगमन गरेको भए लालबकैया र बागमती नदी बाँध जोगिने थियो भने बताए ।
दुबै नदीको बांध भत्किएको कारन आएको बाढ़ीले तथा पानीको उचित निकास नहुँदा किसानको ठूलो क्षति भएको उल्लेख गरे । विपद व्यवस्थापन समितिले समयमा भएको क्षतिको यकीन गरी राहत र क्षति पूर्ति उपलब्ध गराउनु पर्ने जोड़ दिए ।
पूर्व संविधान सभा सदस्य अशोक जायसवालले संघीय संसद र प्रदेश सांसदले बागमती नदी र लालबकैया नदीको बाँधको बलियो बनाउने तरफ सक्रियता नदेखाएको टिपण्णी गरे । परोहा नगरपालिकाका नगर प्रमुख शेख वकील ,गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह , बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीप यादवले नदी नियंत्रण कार्यालयको तीखो आलोचना गर्दै भत्किएको बाँधको पुनर्निर्माण गर्न छिटो भन्दा छिटो कार्य गर्नका लागि आग्रहगरे ।
प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा भएको बैठकले बाढ़ी पहिरोमा परी ज्यान गुमाएका प्रति श्रदांजलि अपर्ण गर्दै प्रभावित भएकालाइ समयमा राहत व्यवस्थापन गर्नु पर्ने , भएको क्षतिको बिबरण संकलन गरी क्षति पूर्ति दिनु पर्ने , भत्किएको बाँधको तत्काल मरमत गर्न सम्वन्धित निकायलाइ आग्रह गर्नु पर्ने लगायतको निर्णय गरिएको छ । बैठकमा सुरक्षा निकायका प्रमुख राजदेवी नगर पालिकाका नगर प्रमुख भिखारी यादव , राजपुर नगरपालिकाका नगर प्रमुख डाक्टर मोहमद राजिक आलम , माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव , गढ़ीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव , देवाही गोनाहीका नगर प्रमुख प्रेमलाल साह , मौलापुर नगरपालिकाका नगर प्रमुख रीना देवी साह , गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जायसवाल लगायत राजनितिक दलका प्रतिनिधि ,नागरिक समाजका अगुवा , नदी नियंत्रण कार्यालयका प्रमुख , सड़क डिभिजन कार्यालयका प्रमुख , स्वास्थ्य कार्यालयका प्रमुख ,नेपाल रेडक्रास सोसाइटीका सभापति संचारकर्मीहरु सहभागी भएका थिए ।