रौतहटका पालिका प्रमुखहरूको सरकारलाई चेतावनीः बाढी संकटग्रस्त क्षेत्रको घोषणा नगरे आन्दोलन गर्ने तयारी
रौतहटका पाँच पालिकाका प्रमुखहरू
रौतहट ।
गौर नगरपालिका सहित रौतहटका पाँच पालिकाका प्रमुखहरूले बाढी संकटग्रस्त क्षेत्रको घोषणा गर्न सरकारलाई चेतावनी दिएका छन्। बाग्मती र लाल बकैया नदीका किनारमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै, उनीहरूले सरकारले बाढी प्रभावित क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको नेतृत्वमा माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव, बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदीप यादव, इशनाथ नगरपालिकाका नगर प्रमुख कौशल्या देवी, र यमुनामाई गाउँपालिकाका अध्यक्ष महमद साउदले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा भनिएको छ कि २०८१ असोज १०, ११, र १२ गतेको लगातारको वर्षाले रौतहट जिल्लामा भयावह बाढी ल्याएको थियो । जसबाट किसानहरूको हजारौं बिघा जग्गामा लगाइएको बाली र व्यापारिक प्रतिष्ठानहरूमा क्षति पुर्याएको थियो ।
स्थानीय प्रमुखहरूले भनेका छन् कि नेपाल सरकारले अन्य जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्दा रौतहटलाई बेवास्ता गरिएको छ। यदि सरकारको यो बेवास्ता जारी रह्यो भने दशैं पर्वपछि चरणबद्ध आन्दोलन थाल्ने चेतावनी दिएका छन् । उनीहरूले गौर नगरपालिका, माधव नारायण नगरपालिका, ईशनाथ नगरपालिका, बौधीमाई नगरपालिका, र यमुनामाई गाउँपालिकालाई तत्काल बाढी संकटग्रस्त क्षेत्रको रूपमा घोषणा गर्न माग गरेका छन्।









