जसपा नेपालको पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम
गरुडा, रौतहट – जनता समाजवादी पार्टी नेपाल (जसपा) ले गरुडामा शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रम नगरपालिकाको वडा नं. ५ महम्मदपुर झाँझ बैरेजमा अवस्थित गोपाल सेवा समिति भवनको सभा हलमा आइतबार सम्पन्न भएको हो।
कार्यक्रमको आयोजना गरुडा नगर कमिटीले गरेको थियो, जसमा आधारभूत संगठन निर्माणको अभियान अन्तर्गत विस्तारित बैठक र शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान गरिएको थियो। कार्यक्रममा दर्जनों नेता र कार्यकर्ताहरूले विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन्।
नव प्रवेशी नेता कार्यकर्ताहरूलाई प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालको केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरी, विशिष्ट अतिथि मधेश प्रदेश सरकारका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादव र जिल्ला अध्यक्ष श्यामबिहारी राय यादवले टिका तथा गमछा ओढाई स्वागत गरेका छन्।
जिल्ला अध्यक्ष श्यामबिहारी यादवले उपस्थित सबै नेता कार्यकर्ता र पार्टी प्रति आस्था राख्ने व्यक्तिहरूलाई हिन्दू धर्मावलम्बीहरूको महान पर्व शुभ दीपावली र आस्थाको पर्व छठको अवसरमा स्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य पुजा चौधरी, केन्द्रीय सदस्य चुल्हाई राय यादव, मधेश प्रदेश कार्यकारणी समिति सदस्य पुनीत राम, गरुडा नपाको मेयर प्रत्याशी अनिल कुमार यादव लगायतका प्रमुख नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।









