जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन: पूर्वमन्त्री सञ्जय यादवद्वारा राष्ट्रिय महासचिवमा उम्मेदवारी दर्ता
सञ्जय कुमार यादव
;सप्तरी (चन्दन रजक) जनमत पार्टीका नेता तथा मधेश प्रदेशका पूर्वमन्त्री सञ्जय कुमार यादवले पार्टीको राष्ट्रिय महासचिव पदमा उम्मेदवारी दर्ता गराएका छन्।
आउँदो असोज १० गते वीरगन्जस्थित टाउनहलमा हुन गइरहेको पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनका लागि तोकिएको निर्वाचन तालिका अनुसार असोज १ गते उनले आफ्नो मनोनयन दर्ता गराएका हुन्।
सिरहा जिल्ला निवासी यादव जनमत पार्टीभित्र एक प्रभावशाली र समर्पित युवा नेताका रूपमा परिचित छन्। पार्टी स्थापनाकालीन ‘मधेश स्वराज आन्दोलन’ देखि नै निरन्तर सक्रिय रहँदै आएका उनले देशभर संगठन विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
यसअघि जनमत पार्टीको राष्ट्रिय सचिवको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका यादवसँग मधेश प्रदेश सरकारमा दुई पटक मन्त्री बनेको अनुभव छ। उनले जनमत पार्टीका तर्फबाट एकपटक राज्यमन्त्री र अर्कोपटक वन तथा वातावरण मन्त्रीको कार्यभार सम्हालेका थिए।
पार्टीका युवा पंक्तिमा लोकप्रिय छवि बनाएका र सांगठनिक संरचना मजबुत बनाउन निरन्तर खटेका कारण यसपटकको महाधिवेशनमा उनले महासचिव पद जित्ने सम्भावना बलियो रहेको उनका समर्थक तथा पार्टी कार्यकर्ताहरूको दाबी छ।









