इजाजत पत्र बिना उपचार गर्ने तीन जना नकली चिकित्सक पक्राउ
पूजा पाठक ,रौतहट १४ फाल्गुन
रौतहट जिल्लाको सुकदेव चौकमा रहेको निजी अस्पतालबाट उपचार गर्ने इजाजत पत्र तथा शैक्षिक योग्यता नभएको २ भारतीय सहित ३ जना नक्क्ली डाक्टरलाइ रौतहट प्रहरीले पक्राउ गरेको छ !
रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर १ सुकदेव चौकमा सञ्चालन रहेको सागरमाथा तराई हॉस्पिटल प्रा ली मा योग्यता नपुगेको तथा इजाजत पत्र समेत नभएको व्यक्ति उपचार गरिरहेको प्राप्त भएको सुचनाको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट गएको अनुगमन टोलीले सो तीन जना नकली स्वास्थ्यकर्मीलाइ पक्राउ गरेको हो !
नेपाल सरकारको मेडिकल काउन्सिलबाट उपचार गर्ने इजाजत पत्र नलिईकन एपेंडिक्स ,पायल्स ,यूट्रेस को शैल्यक्रिया गर्दै आएको सुचनाको आधारमा अनुगमन गर्दा उपचारमा संलग्न २ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ !
पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला पूर्वी चम्पारण थाना ढाका वड़ा नम्बर १४ खैरबा निवासी मनीर आलमको छोरा ३५ वर्षीय हसीन अख्तर ,पूर्वी चम्पारण शिकारगंज वड़ा नम्बर ३ बटोआ निवासी हासिम अंसारीको छोरा २७ वर्षीय मो तबरेज आलम र रौतहट जिल्लाको यमुनामाई गाउँपालिका २ भेड़ियाही निवासी जमील अख्तरको छोरा २७ वर्षीय कलम मंसूरी रहेको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिएका छन !
भारतमा अभ्यास गरेको आधारमा नेपालमा उपचार गर्ने गरेको बुझिएको छ ! नेपालमा उपचार गर्नको लागि सम्वन्धित निकाय संग अनुमति लिनु पर्नेमा सो नगरी विना इजाजत पत्रको बिरामीहरुलाई शैल्यक्रिया गर्ने गरेकोले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अंतर्गत इलाज सम्वन्धी कसूरमा कानून बमोजिम कार्यवाही अगाडी बढ़ाइएको र यसमा संलग्न रहेका अन्य व्यक्तिको खोजी कार्य भैरहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक गिरीले जनाएका छन !








