पूर्व मन्त्री महतोले पाँच हजार घुस दिएर शिक्षाको काम गराए

पूर्व मन्त्री महतोले पाँच हजार घुस दिएर शिक्षाको काम गराए

काठमाडौँ । एक पूर्व मन्त्रीले पाँच हजार घुस दिएर शिक्षाका काम गराएका छन् । जनता समाजवादीका सांसद एवं पूर्व वन मन्त्री वीरेन्द्र महतोले आफ्नो छोराको समकक्षता प्रमाणपत्र लिन पाठयक्रम विकास केन्द्रमा पाँच हजार रुपैया घुस दिनु परेको कुरा आइतबार प्रतिनिधि सभाको बैठकमा वहाँले बताउनु भयो ।

प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग गरेको बैठकमा बोल्दै महतोले सानोठिमी स्थित पाठ्यक्रम विकास केन्द्रबाट छोराको समकक्षता लिन पाँच हजार घुस दिनु परेको उनले बताए ।

‘म भूपू मन्त्री मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु । पत्याउनु हुन्छ ? कसले पत्याउनु हुन्छ ’ उनले भने,‘मेरो छोराको सर्टिफिकेट इक्युभ्यालेण्ट गर्नु थियो । गर्दिएन । यो मिलेन त्यो मिलेन भन्यो । सबै कागज मिलेको थियो । म आफै गएँ ।’

एघार बजे पठाए पनि तीन बजेसम्म पनि काम नभए पछि आफै गएको उनले बताए । शाखाका अधिकृतलाई सबै मिलेको कागज देखाउँदा पनि मिलेको छैन भनेर समकक्षता नपाएको उनले बैठकमा जानकारी गराए ।

‘एक महिनामा अरू विद्यार्थीले गरेर लगिसक्यो तिमीले किन गर्दैनौ भनेर मैले भने । हैन यो मिलेको छैन भन्यो । चिया खाने समय हो भनेर गयो,’उनले भने‘ चार बजेसम्म पनि आएनन् । बिचौलियालाई मैले ५ हजार रुपैयाँ दिएँ । म बसिरहेँ । ५ मिनेटमा काम गराइदियो ।’

सुशासनको कुरा गरे पनि पैसा नदिएसम्म कामै नहुने उनले बताए ।

‘सुशासन र भ्रष्टाचारको रोक्ने कुरा गर्छौ । कहाँबाट रोक्ने तलबाट कि माथिबाट ?’ उनले भने,‘सबैतिर बिचौलिया लागिपरेको छ ।’

निजामती कर्मचारीलाई परिवार चलाउने तलबको व्यवस्था नगरेसम्म यस्तो विकृति नरोकिने उनले बताए ।

RELATED NEWSसबै