दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित
न्द्रपुर (रौतहट), १२ माघः विगत ३५ वर्षदेखि दलित समुदायको हकअधिकारका क्षेत्रमा वकालत गर्दै आउनुभएका धर्मेन्द्र पासवान राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसको तर्फबाट दलित ‘क्लष्टर’बाट उम्मेदवारी दर्ता गराउनुभएका पासवान आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको हो । उहाँले सात हजार ९०४ मतभार प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका रामनन्द प्रसादले एक हजार ३७६ जनता समाजवादी पार्टीकी चमेली देबी दासले २०९ मतभार प्राप्त गर्नुभयो ।
निर्वाचित पासवानले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको थियो । उहाँ लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो । नेता पासवानले बाल्यकालदेखि नै समाजमा व्याप्त विभेद, अन्याय र बहिष्करण विरुद्ध आवाज उठाउँदै आउनुभएको थियो ।
रौतहट परोहा नगरपालिका–३ का पासवानले राजनीति शास्त्रमा स्नातक गर्नुभएको छ । साधारण परिवारमा जन्मिनु भएका पासवानले बाल्यकालमै दलित समुदायले भोग्दै आएको पीडा, अपमान र अवसरको अभाव नजिकबाट अनुभव गर्नुभएको थियो । यही अनुभवले पद र प्रतिष्ठाभन्दा माथि उठेर दलित हकअधिकार, सामाजिक न्याय र समावेशी लोकतन्त्रको स्थापनाका लागि निरन्तर आफूलाई सङ्घर्षरत रहेको उहाँको भनाइ छ ।
पासवानले विभिन्न गैरसरकारी संस्थामार्फत समाजसेवामा उल्लेखनीय योगदान पु¥याएबापत अन्तरराष्ट्रियस्तरका पुरस्कार प्राप्त गर्नुभएको छ । हाल उहाँ दलित सङ्घको केन्द्रीय महासचिवको जिम्मेवारीमा पनि हुनुहुन्छ ।
दलित समुदायको हकअधिकारका लागि आफू निरन्तर सङ्घर्षरत रहेपनि सोचे जस्तो उपलब्धि प्राप्त गर्न नसकेको उहाँको गुनासो छ । दलित समुदायको आर्थिक समाजिक विकासका लागि अझै पनि निस्वार्थ भएर लडिरहने उहाँको प्रतिबद्धता छ । पासवानले राष्ट्रिय सभामा गएर पनि दलित समुदायको उत्थानका लागि आवाज बुलन्द गर्ने प्रतिक्रिया दिनुभयो । “म दलितको मुद्दालाई राष्ट्रियसभा मार्फत उठाउनेछु”, उहाँले भन्नुभयो, “दलित मुक्तिको आन्दोलनमा जहाँ रहेर भएपनि सधैँ मेरो सहभागिता, समर्थन रहनेछ ।”
उहाँको जीवनशैली सरल, अनुशासित र जनमुखी रहेको नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताउनुभयो । “आर्थिक रूपमा सामान्य पृष्ठभूमिबाट आउनुभएका पासवान विलासी जीवनभन्दा जनताको सेवामा रमाउने नेताका रूपमा चिनिनुहुन्छ,”, गुप्ताले भन्नुभयो, “उच्च सोच, कम अपेक्षा र दृढ इमानदारी उहाँको पहिचान हो ।” रासस








