गौरमा पर्यटन विकास कार्यालयको उद्घाटन

गौरमा पर्यटन विकास कार्यालयको उद्घाटन

कार्यालय उदघाटन कार्यक्रम

रौतहट , ३० कार्तिक । रौतहट र सर्लाही कार्यक्षेत्र रहने गरी जिल्ला रौतहटको सदरमुकाम गौर न.पा.को वडा नं. ३ मा पर्यटन विकास कार्यालयको शुक्रबार उदघाटन भएको छ । कार्यालयको उदघाटन मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँ तथा वन तथा वातावरण मन्त्री त्रिभूवन साहले संयूक्त रुपमा गरेका थिए ।

कार्यालय उदघाटन कार्यक्रममा उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष पंडित जैसवालले पर्यटन विकासले उद्योग व्यवसाय र व्यापारमा सकरात्मक भूमिका खेल्ने र भारतिय पर्यटकलाई मधेश प्रदेशमा भित्राउन मधेश प्रदेश सरकारले ठोस कार्याक्रम ल्याउनु पर्ने धारणा राखेका थिए ।

सोही कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख शम्भू साहले गौर नगरपालिकामा पर्यटन विकास कार्यालय खुलेकोमा मधेश प्रदेश सरकारलाई धन्यवाद दिँदै गौर नगरपालिका भित्र रहेका प्राचिन मठ, मन्दिर, पोखरी र ताललाई पर्यटन क्षेत्रको रुपमा विकास गरी भारतिय पर्यटकलाई भित्रयाउन सकिन्छ भन्ने धारणा राखेका थिए । भारतिय पर्यटकलाई मधेश प्रदेश तथा नेपालमा भित्रयाउनका लागि २५ हजार रकम मात्र भारतबाट नेपाल ल्याउन सकिने र भारतिय गाडी बर्षमा ३० दिन मात्र नेपालमा इन्ट्री गर्न पाउन सिमा हटाउन नेपाल सरकार सँग यसै कार्यक्रम मार्फत नगरप्रमुख साहले मांग गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँले गौरमा खुलेको पर्यटन विकास कार्यालयले रौतहट र सर्लाहीको पर्यटन विकासमा महत्वपुर्ण भूमिका खेल्ने जानकारी गराए । भारतिय पर्यटकलाई नेपाल तथा मधेश प्रदेशमा भित्रयाउन २५ हजार रकम र ३० दिने गाडी इन्ट्री प्रतिको सिमा हटाउन संघ सरकार सँग पहल गर्ने समेत बताए ।

पर्यटन विकास कार्यालय गौरका कार्यालय प्रमुख संजय कुमार मिश्रको अध्यक्षतामा भएको कार्यालय उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँ, विशिष्ट अतिथिको वन तथा वातावरण मन्त्री त्रिभूवन साह, विशेष अतिथिको रुपमा मधेश प्रदेश सभा सदस्य इन्दु साह, जिल्ला समन्वय समितका सभापति राम अयोध्या राय यादव, गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह, मधेश प्रदेश सरकारका पूर्व कृषि मन्त्री तथा प्रदेश सभा सदस्य बसन्त कुशवहाका प्रतिनिधी डा. सुमन्त कुशवहा , उद्योग वाणिज्य सँगरौतहटका अध्यक्ष पंडित जैसवाल लगायत जिल्ला स्थितका विभिन्न कार्यालयका कार्यालय प्रमुख, राजनैतिक दलका प्रतिनिधि र पत्रकारको उपस्थिति रहेको थियो ।