गढीमाई मेला महोत्सव २०८१ को उद्घाटन
पञ्चवर्षीय गढीमाई मेला महोत्सव २०८१
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले रौतहटको सुन्दपुरमा पञ्चवर्षीय गढीमाई मेला महोत्सव २०८१ को उद्घाटन गरेका छन्। मेला गढीमाई नगरपालिका वडा नम्बर ४ सुन्दरपुरस्थित गढीमाई मन्दीर परिसरमा मंसिर १८ देखि मंसिर २६ गतेसम्म सञ्चालन हुनेछ।
उद्घाटन समारोहमा उपस्थित हुँदै, उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले देशको अर्थतन्त्रलाई सुधार्नका लागि काम गरिरहेको बताए। उनले राजनीतिक अस्थिरताका कारण बिग्रिएको अर्थतन्त्रमा सुधार ल्याउनका लागि सरकारको प्रयास जारी रहेको स्पष्ट पारे।
सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले भने, “विदेशी मित्र राष्ट्रहरूसँग अनुदान लिएर भए पनि सरकारले देशलाई विकास र समृद्धि तर्फ अघि बढाउन कुनै कसर बाँकी नराखेको छ।”
गढीमाई मेलामा मंसिर २० गते भारतीय भोजपुरी सुपरस्टार खेसारीलाल यादवको उपस्थितिको पनि जानकारी दिइएको छ।
उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णा प्रसाद यादव, र अन्य स्थानीय नेताहरूको सहभागिता रहेको थियो। गढीमाई नगरपालिकाका प्रवक्ता दिपेन्द्र श्रेष्ठले मेलाको व्यवस्थापनसम्बन्धी जानकारी दिएका छन्।









