आइतबार मुख्यमन्त्रीले ‘विश्वासको मत ’ लिने
जनकपुरधाम, ३ फागुन ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले फागुन ६ गते आइतबार मधेश प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । सरकारमा सहभागी दल जनमतले समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीले सदनमा विश्वासको मत लिन लागेका हुन् ।जनमत पार्टीले समर्थन फिर्ता लिएको एक महिना फागुन ९ गते पुग्दैछ ।
सरकारमा सहभागी दलहरूले मधेश प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने पूर्वसहमतिअनुसार सत्ता नेतृत्व गर्ने समयावधि तय हुनुपर्ने, राजनीतिक नियुक्ति आदिमा दलीय भागबन्डा तय हुनुपर्ने र सरकार सञ्चालनमा जसपा नेपालको एकल वर्चस्व कम गरी प्रभावकारिता वृद्धि हुनुपर्ने आदि विषयलाई लिएर मुख्यमन्त्रीले विश्वासको मत लिनुपूर्व नै सहमति हुनुपर्ने अडान लिएका छन् ।
यद्यपि जसपा नेतृत्वको मौजुदा सरकारलाई ससर्त निरन्तरता दिने विषयमा नेकपा माओवादी केन्द्रका प्रादेशिक तहका नेताबाहेक दलहरूले लचकता अपनाएका छन् ।
केन्द्रको मधेश प्रदेशसभामा संसदीय दलका नेता भरतप्रसाद साहले सत्तारुढ दलबीच नेतृत्व आलोपालोबारे कार्यकालसहित ठोस सहमति नभए मुख्यमन्त्री यादवलाई विश्वासको मत दिन नसकिने बताउँदै आएका छन् ।
सत्तारुढ अर्का दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालको सरकारमा सहभागी भइरहँदा आफ्नो दललाई हुने लाभका आधारमा विश्वासको मत दिने वा नदिनेबारे रणनीति बनाउने धारणामा रहेको छ । एक मन्त्रीसहित सरकारमा सहभागी दलको माग भने थप एक मन्त्रालय रहेको छ । अहिले कायम गरिएको मन्त्रालयको सँख्या अनुसार मधेश प्रदेशमा दुई मन्त्रालय मुख्यमन्त्रीसँग छ ।
यता काँग्रेसले पनि मन्त्री रिक्त रहेका मन्त्रालयका लागि दाबी गरेको छ । तर, काँग्रेस एउटामात्र मन्त्रालय लिएर चित्त बुझाउन सक्ने जसपाको बुझाइ छ । राज्यमन्त्री थपेर भए पनि सत्तारुढ दलहरूको असन्तुष्टि सम्बोधन गरिने जसपा स्रोतको भनाइ रहेको छ ।
नेकपा माओवादी केन्द्रका नेता साहसँग विभिन्न च्यानलमार्फत कुरा भइरहेको र विश्वासको मत लिने अघिल्लो दिनसम्म सहमति भइसक्ने जसपा स्रोतको दाबी रहेको छ ।
मधेश प्रदेश सरकारका सम्बन्धमा केन्द्रीय गठबन्धनमा समेत छलफल भइरहेको छ । गठबन्धन बैठकमा भने सरकार प्रभावकारी ढंगले सञ्चालन हुनुपर्नेमा केन्द्रित छलफल हुनेगरेको छ ।
केन्द्रीय गठबन्धन बैठकबाट विश्वासको मतका बारेमा निर्णय भई आएमा सोहीअनुसार दलहरूले मतदान गर्ने समेत स्रोतको दाबी रहेको छ ।









