प्रादेशिक औद्योगिक मेला चौथो चन्द्रपुर महोत्सव २०८१ फाल्गुण ५ गतेदेखि सुरु हुने
प्रादेशिक औद्योगिक मेला चौथो चन्द्रपुर महोत्सव २०८१
सरोज मिश्रा,
रौतहट । चन्द्रपुर नगर उद्योग बाणिज्य संघ, चन्द्रनिगाहपुर रौतहटको आयोजनामा “प्रादेशिक औद्योगिक मेला चौथो चन्द्रपुर महोत्सव २०८१“ फाल्गुण ५ गतेदेखि १७ गतेसम्म चन्द्रपुर ४ स्थित तुलसीलाल अमात्य स्मृती रंगशालामा आयोजना हुने भएको छ। “कृषि पर्यटन उद्योग व्यापार, समृद्धिको मुख्य आधार” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस महोत्सवमा स्थानीय कृषि तथा लघु उत्पादन र व्यवसायिक प्रदर्शनी तथा बिक्री स्टलहरू सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारहरूको सांस्कृतिक प्रस्तुति र बाल उद्यानजस्ता मनोरञ्जनात्मक सामग्रीहरू रहनेछन्।
चन्द्रपुर नगरपालिकाको संरक्षणमा तथा चन्द्रनिगाहपुर सिटि जेसिज, लायन्स क्लब रौतहटको सहआयोजनामा आयोजना हुने महोत्सवमा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको समर्थन र मधेस प्रदेश सरकारको उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालयको मुख्य सहयोग रहेको छ। महोत्सवको समुद्घाटन फाल्गुण ५ गते दिउँसो १ बजे माननीय मुख्य मन्त्रीको प्रमुख आतिथ्यतामा हुनेछ।
समुद्घाटन समारोहको दिन बिहान ११ बजे जनज्योति माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु हुने शोभा यात्रा चन्द्रनिगाहपुर बजारको परिक्रमा गर्दै महोत्सव स्थलमा पुगेर समुद्घाटन समारोहमा समावेश हुनेछ।
उद्योग वाणिज्य सँघका अध्यक्ष उदय नारायण सापकोटाले जानकारी गराए अनुसार, महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। बालउद्यान, टेन्ट, स्टल, स्टेज र लाइटिङको काम लगभग सम्पन्न भइसकेको छ भने जम्मा ११५ स्टलमध्ये आधा जसो बुकिङ भइसकेका छन् र बाँकी स्टलहरूको बुकिङ प्रक्रिया जारी छ। महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको महोत्सवभरी बेजोड सांस्कृतिक प्रस्तुति रहनेछ। जसमा फाल्गुण ६ गते रमेश मेलोडी, रचना शिवाकोटी, अस्मिता कार्की लगायतका कलाकारहरूले मनोरञ्जन प्रदान गर्नेछन् भने समापन समारोहमा गण्डकी स्पेसल, एलिना चौहान र सम्झना लामिछाने मगरको प्रस्तुति रहनेछ।
महोत्सवमा एन सेल, गोर्खा ब्रुअरी, जावलाखेल ग्रुप आर्थिक सहयोगी रहेका छन् भने होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले सपोर्ट गरिरहेको छ। नेको ईन्सुरेन्स ईन्सुरेन्स पार्टनर, महालक्ष्मी विकास बैंक बैंकिङ पार्टनर, वल्र्डलिङ्क र सुबिसु इन्टरनेट पार्टनरका रूपमा रहेका छन्। स्वास्थ्य सेवा साझेदारका रूपमा चन्द्रपुर अस्पताल प्रा. लि., सिभिल अस्पताल प्रा. लि. लगायतका स्वास्थ्य संस्थाहरूले सेवा प्रदान गर्नेछन् भन्ने अध्यक्ष सापकोटाले जानकारी गराए ।
यस प्रकारको क्षेत्रीय औद्योगिक मेला र सांस्कृतिक महोत्सवले स्थानीय उत्पादन, सांस्कृतिक विविधता र पर्यटनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। चौथो चन्द्रपुर महोत्सव २०८१ ले स्थानीय अर्थतन्त्र र सामाजिक सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने विश्वास लिइएको छ।








