मनी ट्रान्सफर घटनामा लुटिएको रकमबारे खुलाएंन प्रहरीले
पूजा पाठक ।
रौतहट । परोहा नगरपालिका वड़ा नम्बर ९ रामपुर खापमा भएको घटनामा के कति रकम लुटिएको बारेमा जिल्ला प्रहरी कार्यालय रौतहटले स्पस्ट पार्न सकेको छैन ।
गएको शुक्रवार दिउँसो करीव १ बजेको समयमा भारतीय सीमा संग जोडिएको रहेको वड़ा नम्बर ९ मा संचालित शिव मनी ट्रान्सफरमा तीन जनाको समूहमा आएका हथियारधारी भारतीय नागरिकले संचालक बिरेन्द्र साहका २६ बर्षीय छोरा नितेश साह माथि बैंकमा प्रबेश गरी गोली प्रहार गरी रकम लुटेर भाग्दै गरेको अवस्थामा स्थानीयहरु समातेर प्रहरीलाइ बुझाएको थियो ।
घटना भएको भोली पल्ट शनिवार दिउँसो पत्रकार सम्मेलन गरेर स्थानीयले बुझाएका तीन जना भारतीय लुटेरालाइ जिल्ला प्रहरी कार्यालयले सार्वजानिक गर्यो तर घटनामा प्रयोग भएको मोटरसाइकल ,हथियार बरामद भएको जनाएपनि लुटिएको के कति रकम बरामद भएको भन्ने बारेमा प्रहरीले यकीन गर्न नसक्दा अनुसन्धान फितलो देखिएको बुझ्न सकिन्छ ।
बीआर ०६ सीएल ९७९६ नम्बरको अपाची मोटरसाइकलमा तीन जना हथियारधारी समूहले बैंक भित्र प्रबेश गरी संचालक साह माथि गोली प्रहार गरी भाग्दै गरेको सुचना पाउने वित्तिकै प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठको कमाण्डमा ३० जना र घटना वरपरका प्रहरी कार्यालयका ३० जना टोली बिभिन्न नाकामा घेरा हालेर पक्राउ गरेको विज्ञप्तिमा दावी गरिएको छ । प्रहरी आउनु भन्दा अघि स्थानीयले समातेको थियो ।
जबकी घटना पछि भाग्दै गर्दा स्थानीयहरुले समातेर तिनै जनालाइ कुटपिट गर्दै गरेको सामाजिक संजालमा सार्वजनिक भएको भिडिओमा देखिन्छ । भिडिओमा प्रहरीले स्थानीयबाट जोगाउने प्रयास गर्दै गरेको देखिएको छ । लुटपिटमा संलग्न भारत बिहार राज्यको पूर्वी चम्पारण जिल्ला थाना चिरैया दिपही वड़ा नम्बर २ निवासी सिकन्द्र रायको छोरा १९ वर्षीय मुनीफ कुमार यादव , सुभाष पासवानको छोरा १८ बर्षीय राधा भन्ने राज कुमार पासवान र सोही ठाउ निवासी गोविन्द सिंहको २० बर्षीय छोरा चुनु कुमार सिंह भन्ने चंद्रभान सिंह पक्राउ परेको र अनुसन्धानको लागि हिरासतमा रहेका छन ।
गोली प्रहारबाट घाइते भएका साहको आखामा समस्या भएकोले थप उपचारको लागि काठमांडौँ पठाइएको विज्ञप्तिमा भनिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको विज्ञप्तिमा पक्राउ परेको लुटेरा कुन बाटो प्रयोग गरी नेपाल प्रबेश गरेको ? यसको समूहमा के कति जना रहेको ? मनी ट्रान्सफरमा आक्रमण गर्नुको पछाडिको उदेश्य के रहेको ? योजनाकार कहा को कति जना रहेको ? कति रकम लुटिएको ? बरामद कति भएको बारेमा केहि उल्लेख गर्न नसकेको कारण प्रहरीको प्रारम्भिक अनुसन्धान नै गतिलो देखिएको छैन ।
शुक्रवार दिउँसो भएको घटना नेपाल प्रहरीलाइ ठूलो चुनौती दिदै घटाइएको छ । चाडपर्वको अवसरमा चेकजाँचको लागि व्यापक रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी विभिन्न नाका ,सड़क खण्डमा परिचालन भएको अवस्थामा एउटै मोटरसाइकलमा तीन जना चढेर नेपाल आउदा नाकामा खटिएका प्रहरीको ध्यान कता रहेको भनी प्रश्नको विषय रहेको छ । पछिलो समयमा सदरमुकाम गौर देखि अन्य ठाउमा मोटरसाइकल चोरीको घटना समेत बढेको अवस्था रहेको छ ।









