कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिन निलंबित मेयरको चलखेल
पूजा पाठक, २२ आषाढ़ ।
भ्रस्टाचार गरेको अभियोगमा निलम्बनमा परेका रौतहट जिल्लाको कटहरिया नगरपालिकाका निलम्बित नगर प्रमुख अजयप्रकाश जैसवालले आफ्नो पक्षका कार्यपालिका सदस्यलाइ कार्यबाहक मेयर बनाउन चलखेल शुरू गरेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा भ्रस्टाचार मुद्दाको आरोप पत्र दायर गरे पछि मेयर जैसवाल, उपमेयर रितादेवी यादवसहित ११ जना एकैपटक निलम्बनमा परेपछि अहिले कार्यबाहक मेयर बनाउन चलखेल सुरू भएको हो ।
जायसवालले आफ्नै घरमा बोलाएर एक जना महिला कार्यपालिका सदस्यलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएको निर्णय गराएर मुसहर समुदायकी महिला कार्यपालिका सदस्य शुक्रबार मेयरको कुर्सीमा बस्ने योजना बनाएर कटहरिया नगरपालिकामा आएपनि नगर कार्यपालिका बहुमत सदस्यहरूले विरोध गरेपछि गोप्य तरिकाले गरिएको निर्णय नगरपालिकामा दर्ता हुन नसकेको वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले बताएका छन् ।
वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र महतो, २ का अध्यक्ष हरेन्द्र साह, ३ का अध्यक्ष श्यामाकान्त यादव, ४ का अध्यक्ष चन्दन कुशवाहा, ५ का अध्यक्ष सर्फलाल प्रसाद, ७ का अध्यक्ष महमद सहीद, ९ का अध्यक्ष रुपेश यादवसहित १४ जना कार्यपालिका सदस्यले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको अध्यक्षतामा नगर कार्यपालिका बोर्डको बैठक आह्वान गर्न अनुरोध गरेका थिए ।
शुक्रबार बेलुकी ६ बजे कार्यपालिका बोर्डको बैठक आह्वान गर्दै पत्राचार प्रमुख प्रशासकीय अधिकृत प्रधान वडा ६ का अध्यक्ष जयराम चौधरीबाहेक सबै १४ जना नगरपालिकाको सभाहलमा उपस्थित हुँदा बैठकमा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।
बैठक आव्हान गरेर मेयर जैसवालको दबाबको कारण उपसचिव प्रधान बैठकमा अनुपस्थित भएको वडा अध्यक्षहरूले आरोप लगाएका छन् ! निर्वाचित भएदेखि नै विभिन्न आर्थिक विवादमा पर्दै आएका मेयर जैसवाल निलम्बित भएपछि महिला कार्यपालिका सदस्यलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएर विकास बजेट अनियमितता गर्ने दाउमा रहेको वडा अध्यक्षहरूको भनाइ छ ।
कटहरीया नगरपालिकाका मेयर र उपमेयरसमेत ११ जनाविरुद्ध अख्तियार दुरुपयोगा अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेपछि उनीहरू निलम्बित भएका थिए । कटहरिया-२ मा जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्स तथा फ्लोरिङको कामका लागि गठन भएको उपभोक्ता समितिले गरेको कम कामलाई बढी देखाएर भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
मेयर जैसवालले नियम अनुसार कार्यबाहक मेयर बनाउन कार्यपालिकासँग स्वयम् अधिकार रहेको बताउँदै लागेको आरोपको खण्डन गरेका छन् ।
नगरप्रमुख अजय प्रकाशले उपभोक्ता समितिलाई १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ भुक्तानी दिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को (ग) र (ङ) बमोजिम कसुरमा बिगो १२ लाख ५२ हजार ९ सय ४१ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय माग दाबी गरिएको छ ।
मेयर अजय प्रकाश, उपमेयर रिता देवी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियरद्वय राजेशकुमार साह, मो. मकसुद आलम, योजना शाखाका प्रमुख राम नरेश प्रसाद यादव, वडा ८ का अध्यक्ष तथा कार्यपालिका सदस्य समिशविक्रम साह, मनोजप्रसाद जैसवाल, उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता चौधरी र सचिव योगेन्द्र साह माथि भ्रस्टाचारको अभियोग दावी रहेको छ ।









