रौतहटको दलित बस्तीमा आगलागीः करोडौंको क्षति, यादवद्वारा पीडितलाई सहयोगको अपील

रौतहटको दलित बस्तीमा आगलागीः करोडौंको क्षति, यादवद्वारा पीडितलाई सहयोगको अपील

मध्यरातमा भएको भीषण आगलागी

राजदेवी नगरपालिका वडा नं. ५ पताही टोलको दलित बस्ती पासवान टोलमा हिजो मध्यरातमा भएको भीषण आगलागीले स्थानीय बासिन्दाहरूलाई गहिरो दुःखमा पारिदिएको छ। जनमत पार्टीका नेता बिकास कुमार यादवका अनुसार, आगलागीबाट लगभग करोड रुपैयाँभन्दा बढीको धनमालको क्षति भएको छ। उनले पीडित परिवारसँग भेटघाट गर्दै गहिरो दुःख व्यक्त गरेका छन् र यस कठिन समयमा सबैलाई एकजुट भएर सहयोग गर्न अपील गरेका छन्।

आगलागीले आठ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्, जसमा बाबुलाल पासवान, नागेन्द्र पासवान, रामनाथ पासवान, जगरनाथ पासवान, दिपेन्द्र पासवान, विजय पासवान, कान्ति देवी र रामसोगारथ पासवानका घरहरू समावेश छन्। आगलागीबाट तीन ओटा बाख्रा समेत जलेर मरेका छन्। पीडित बाबुलाल पासवानका अनुसार, आगलागीले घरभित्रका कपडा, खाद्यान्न सामग्री र १७ लाख रुपैयाँ मूल्यको सम्पूर्ण सामग्री नष्ट भएको छ।

घटनाबारे जानकारी पाउँदा जनमत पार्टीका गौर नगर अध्यक्ष प्रमोद ठाकुर र इसनाथ नगरपालिकाका नगर सचिव श्रीनारायण गुप्ता घटनास्थलमा पुगेका थिए र पीडित परिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन्। यादवले स्थानीय सरकार र विभिन्न संघसंस्थाहरूसँग मिलेर पीडितहरूको सहयोग गर्न आग्रह गरेका छन्।