वायुप्रदूषण बढ्दो क्रममा, काठमाडौं विश्वकै दोस्रो सबैभन्दा प्रदूषित सहर

काठमाडौँ
काठमाडौँ, आइतबार – काठमाडौंमा वायुप्रदूषण झनै बढ्दै गएको छ। आज बिहान ७ बजे काठमाडौँको हावाको गुणस्तर मापन सूचक (AQI) २११ पुगेको छ, जसले काठमाडौंलाई विश्वकै दोस्रो सबैभन्दा प्रदूषित सहर बनाएको छ।
विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा भारतको दिल्ली पहिलो स्थानमा रहेको छ, जहाँ AQI २४९ मापन गरिएको छ। तेस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ, जसको AQI २०७ रहेको छ।
बिहीवार खतरनाक तह पार गरेर शुक्रबार केही कमी आएको काठमाडौंको वायु प्रदूषण शनिबार बेलुकादेखि फेरि तीव्र रुपमा बढेको हो। AQI दुई सयभन्दा माथि पुग्नुलाई “अति अस्वस्थ” मानिन्छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, वायु गुणस्तर सूचकांक २०० भन्दा माथि रहँदा अति सावधानी अपनाउनु आवश्यक हुन्छ। एक सातादेखि वायुप्रदूषणको स्तर निरन्तर बढिरहेको हुँदा अस्पतालहरूमा बिरामीको सङ्ख्या समेत वृद्धि भएको देखिएको छ।
वायुप्रदूषणका कारण विशेष गरी वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला, सुत्केरी तथा दीर्घ रोगीहरू (मुटु, मिर्गौला, श्वासप्रश्वास सम्बन्धी रोगी) उच्च जोखिममा पर्ने गर्छन्। यस्तो अवस्थामा डाक्टरहरूले सकेसम्म घरमै बस्न र बाहिर निस्कनै परेमा मास्क अनिवार्य रूपमा लगाउन सुझाव दिएका छन्।