सौर्य एयरलाइन्स दुर्घटनाः १८ जनाले गुमाए ज्यान छानबिन गर्न जाँचबुझ आयोग गठन
काठमाडौँ, ९ साउनः काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।
अाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी गराएको छ ।
प्राधिकरणका अनुसार अमितमान महर्जन, सागर आचार्य (सेफ्टी प्रमुख), अश्विन निरौला (सिएएमओ म्यानेजर), दिलीप वर्मा (क्यूए प्रमुख), यज्ञप्रसाद पौडेल, शुसान्त कटुवाल (को–पाइलट), सुदीपलाल जोशी, सर्वेस मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, मनुराज शर्मा, सन्तोष महतो, पुण्यरत्न शाही, एरिफ रेडा (विदेशी नागरिक)ले ज्यान गएका छन् । क्याप्टेन मनिषरत्न शाक्य घाइते हुनुभएको छ ।
सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इञ्जिनियर सञ्जय अधिकारी रहनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहनुभएको छ ।
आयोगलाई वायुयानको सत्यतथ्य जाँचबुझगरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । सञ्चारमन्त्री गुरुङकानुसार आगामी दिनमा हवाई दुर्घटना हुन नदिन स्वदेशी तथा विदेशी वायुसेवा सञ्चालन गरिरहेका सञ्चालक कम्पनीले विमानको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राधिकरणले सोको सघन अनुगमन गर्ने निर्णय गरेको छ । यस शोकको घडीमा भोलि बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।









