कमला नदीमा पुल निर्माणको माग गर्दै मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र

कमला नदीमा पुल निर्माणको माग गर्दै मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र

जनकपुरधाम, २७ साउन ः हुलाकी राजमार्ग अन्तर्गत धनुषा–सिरहा सीमामा पर्ने कमला नदीमा पुल बनाउन माग गर्दै कमला पुल निर्माण संघर्ष समितिले मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।

सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित संघर्ष समितिले आइतबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । जनकपुरधाम स्थित मुख्यमन्त्री कार्यालय पुगेर बुझाएको ज्ञापनपत्रमा पुल निर्माणको एक सुत्रीय माग राख्दै सात दिने अल्टिमेटम पनि दिइएको सिरहा नगरपालिकाका इन्जिनियर एवं संघर्ष समितिका संयोजक प्रविन कुमार यादवले जानकारी दिनुभयो । माग सुनुवाइ नभए त्यसपछि थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने उहाँले बताउनुभयो ।

एक हप्ताभित्र आफूहरुको माग सम्बोधन नभए मुख्यमन्त्री कार्यालय अगाडि आगामी ४ भदौदेखि सामूहिक आमरण अनसन गर्ने उनीहरुको चेतावनी छ। ज्ञापनपत्रमा केन्द्रसम्म मधेश र मधेशीको आवाज नपुग्ने भन्दै संघीयता आएको नौ वर्ष बित्दा समेत एउटा पुलका लागि केन्द्र जानुपरे प्रदेश रहनुको औचित्य के छ भन्ने प्रश्न उठाइएको छ।

मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिन आइतबार बिहान ८ बजे संघर्ष समितिका संयोजक इञ्जिनियर प्रवीण यादवको नेतृत्वमा पूर्वमन्त्री रामचन्द्र झा, राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता रामरिझन यादव, प्रदेश सांसद् प्रमोदकुमार यादव, नेता लाल गोइत लगायत सयौंको संख्यामा युवा, किसान, बुद्धिजीवीहरु कमला पुल अंकित झण्डासहित मोटरसाइकल र्याली गरेर जनकपुर पुगेका थिए ।

निर्माणको अन्तिम काम चलिरहेका बेला १७ असार २०७८ मा आएको बाढीले पुलको सिरहातर्फको दोस्रो र त्यही वर्षको ३ कात्तिकमा धनुषातर्फबाट तेस्रो पाया भासिएपछि पुनःनिर्माणको काम सुस्त हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन्। पाया भासिएको करिब डेढ वर्षपछि पछिल्लो माघदेखि पूर्वतर्फ थालिएको पुनःनिर्माणको काम गत १ असारदेखि स्थगित छ।
पुल निर्माण थालिएको करिब १३ वर्ष बित्दै गर्दा समेत सम्पन्न नभएपछि आफूहरुले नयाँ पुल निर्माणको माग गरेको संयोजक यादवले बताए।

ज्ञापनपत्रमा सङ्घीयता आएको नौ वर्ष बित्दा पनि एउटा पुलको लागि केन्द्र नै जानु परे प्रदेशको औचित्य के भनेर प्रश्न गरिएको छ ।

RELATED NEWSसबै