प्रदेश खेलकुद विकास गर्न बनेको विधेयक पारित

जनकपुर, : मधेस प्रदेशसभाको आजको बैठकले प्रदेश खेलकुद विकास गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले प्रस्तुत गर्नुभएको विधेयक ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित गरेको सभामुख रामचन्द्र मण्डलले घोषणा गर्नुभयो । यसअघि, प्रदेशसभामा विधेयकमाथि उठेका जिज्ञासाका बारेमा जवाफ दिनुहुँदै मन्त्री जयसवालले मधेश प्रदेशमा खेलकुदको विकास, खेलाडीको मनोबल उच्च बनाउन, खेल संस्कृतिको निर्माण गरी प्रदेशमा खेलकुदमैत्री वातावरण बनाउन विधेयकले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपनेता दीपेन्द्र ठाकुरले मधेसमा खेलकुदको वातावरण निर्माण गर्न तथा खेलाडीको मनोबल बढाउनका लागि ऐन आवश्यक भएको र ढिलो गरी भए पनि ऐन आएकामा खुसी व्यक्त गर्नुभयो । विधेयकमाथि बुधबारदेखि छलफल भएको थियो । आजको बैठकमा भाग लिने प्रदेशसभा सदस्यहरूमा जीवछी यादव, शारदा देवी थापा, विनादेवी शर्मालगायतले सुझाव दिनुभएको थियो । विधेयक पारित भएपछि आजै मन्त्री जयसवालले पत्रकार सम्मेलन गर्दै सात वर्षको अथक परियासबाट विधेयक पारित भएको बताउनुभयो । यसले मधेस प्रदेशमा खेल र खेलाडीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।