पर्सामा सशस्त्र प्रहरीद्वारा रु.१३ लाख ८० हजार बराबरको अवैध सामान बरामद, भन्सारमा बुझाइयो

रामजी यादव, पर्सा | १७ जेष्ठ
सशस्त्र प्रहरी बल नेपाल, पर्साले भारतबाट अवैध रूपमा भन्सार छलि ल्याइएका करिब रु.१३,८०,९६० बराबरका विभिन्न सामानहरू नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी ड्राईपोर्टबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–२५ स्थित चण्डालचौकमा भारतबाट ल्याइँदै गरेको प्रदेश नं. २–०३–००१ स ४२६४ नम्बरको ई–रिक्सामा लोड गरिएको रु.२,७०,००० बराबरको मोटर पार्ट्स र रु.२,००,००० बराबरको ई–रिक्सा नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ।
त्यसैगरी, विशेष सूचनाका आधारमा जिल्ला पर्सा, वीरगंज महानगरपालिका–१६, नगवा गाउँस्थित डम्पिङ साइटबाट सशस्त्र प्रहरीको अर्को टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि ल्याइएका ४ वटा साइकलमा लोड गरिएको रु.८,३६,९५० बराबरको मोबाइल पार्ट्स, फुटबल जुत्ता, लेडिज तथा जेन्ट्स जुत्ता लगायतका सामानहरू र ती सामान ढुवानीमा प्रयोग गरिएका ४ वटा साइकल समेत नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।
यस्तै, सोही समयमा भकुवा र नगवा इलाकाबाट रु.७३,८०० बराबरको कपडा तथा किराना सामानसमेत नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपनिरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध सामान ओसारपसार रोक्न निगरानी कडा बनाएको जनाएको छ।